एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेशवादी दलहरुसँग २/४ दिनभित्र सहमति हुने दाबी गरेका छन्।एमाओवादी अध्यक्ष दाहालले शुक्रबार अपरान्ह लाजिम्पाटस्थित आफ्नै निवासमा देउसी खेल्न पुगेको रिपोर्टस क्लबको टोलीसँग मधेशवादी दलका मागका सम्बन्धमा एक सातायता अनौपचारिक तवरमा लामो छलफल भएको र छलफल सहमति उन्मुख रहेको बताए। उनले अनौपचारिक छलफलका क्रममा सकारात्मक संकेत देखिएको भन्दै आफूहरु २/४ दिनभित्रै सहमतिमा पुगेर मधेशवादी दलको आन्दोलन र भारतको अघोषित नाकाबन्दी अन्त्य गर्नका लागि क्रियाशील रहेको बताएका हुन्।
एमाओवादी अध्यक्ष दाहालले सीमांकनको विषय राजनीतिक संयन्त्रमार्फत टुंगो लगाउने गरी मधेशवादी दलहरुसँग सहमति हुने पनि बताए।एमाओवादी अध्यक्ष दाहालले आगामी फागुन महिनापछि मुख्य प्रतिपक्षी नेपाली काँग्रेस सरकारमा सहभागी हुने दाबी पनि गरे। उनले पार्टीको महाधिवेशनपछि काँग्रेस सरकारमा आउने दाबी गर्दै यस विषयमा काँग्रेसका नेताहरुसँग छलफल भइरहेको बताए।
काँग्रेसको १३ औं महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौमा तय गरिएको छ । एमाओवादी अध्यक्ष दाहालले आफ्नो सुझाव अनुसरण नगरेको असन्तुष्टिस्वरुप अघोषित नाकाबन्दी लगाएकामा छिमेकी मुलुक भारतले गल्ती महशुस गरी तत्काल नाकाबन्दी हटाउनुपर्ने बताए।
