बंगलादेशको सबैभन्दा पुरानो वेश्यालय बन्द भएको छ । स्थानीय धर्मगुरु तथा राजनीतिज्ञहरूको दवाव तथा मुसलमान बहुसंख्यक भएको यस मुलुकमा परम्परावादीको विस्तार हुँदै गर्दा वेश्यालय बन्द गरिएको हो । तांगाइल नगरमा करिब दुई सय वर्षदेखि चलिरहेको कान्दापारा वेश्यालयका सात सय ५० वेश्यालाई यहाँ बनेका घरहरूको समूहबाट बाहिर जान बाध्य बनाइएको एक अधिकारीले बताए । यी घरहरूका मालिकहरूले नै यी घर बन्द गर्न आदेश दिएका हुन् । मुसलमान धर्मगुरु तथा नागरिक कार्यकर्ताहरूले गत साता यहाँबाट यौनकर्मीहरूलाई हटाउन माग गरेपछि यहाँका घरमालिकहरूले यस्तो निर्णय गरेको जानकारी जिल्ला प्रहरी प्रमुख सलेह मोहम्मद तनवीरले दिए ।
वेश्यालयका घर मालिकले सबै यौनकर्मीलाई यहाँबाट जान आदेश दिएको सूचना जारी गरेको तनवीरले बताए । यी यौनकर्मीले यस निर्णयको कुनै विरोध नगरेको पनि उनले उल्लेख गरे ।परम्परावादीहरूको विरोधबाट इस्लामी तथा अन्य कार्यकर्ताहरूको मनोबल बढेको छ र उनीहरूले हालका वर्षमा मुलुकका विभिन्न भागमा करिब एक दर्जन वेश्यालय बन्द गराइदिएका छन् ।
यस्ता वेश्यालयमा राजधानी ढाकामा अवस्थित सबैभन्दा ठूलो वेश्यालय तनबजार पनि परेको छ । बंगलादेशमा वेश्यावृत्ति गैरकानुनी मानिन्छ तर सरकारले यी वेश्यालय सञ्चालन भएको कुरालाई हालसम्म ध्यान दिएको थिएन । एजेन्सी
