यौन मनोविज्ञान
म २४ वर्षीय अविवाहित पुरुष हुँ। मेरो काँधमा तीन जना भाइबैनीको जिम्मेवारी छ। आमा-बुवा पहाडमा खेती किसानी गर्नुहुन्छ। हामी चार जना काठमाडौंमा बसेर पढ्छौ। यही कारणले मैले कमाउनुपर्ने बाध्यता पनि छ। मेरो मुख्य समस्या भनेको म युवतीसँग संगत गर्न चाहन्छु। यद्यपि मसँगको संगत लामो समय कायम हुन सक्दैन। घरभित्र असल दाइको भूमिका निर्वाह गर्ने म बाहिर किन असल प्रेमी हुन नसकेको होला भन्ने पीरले भित्रभित्रै छट्पटिन्छु। मैले आफ्नो सबै पारिवारिक विवरण दिने भएकाले उनीहरू मसँग टाढिएका हुन् कि ? म तन्नेरी युवक भएकाले युवतीहरू मबाट प्रेम र यौनका केही क्रियाकलाप चाहने तर म त्यसो गर्न नचाहने किसिमको व्यक्ति भएकाले टाढिएका हुन् कि ? वा मैले युवतीको मनोविज्ञान बुझ्न नसकेकाले यसो भएको हो कि ? मेरो समस्यामा तपाईंको राय जान्न चाहन्छु।
एन.आर
सामान्यतः मानिसहरू आफ्नो स्वाभाव जस्तो छ, अरूबाट पनि त्यही किसिमको स्वाभावको इच्छा राख्छन्। आफूले सम्मान चाहन्छन् भने अरूलाई सम्मान दिन्छन् अर्थात् सम्मान चाहने मानिसले अरूलाई पनि सम्मान गर्न जानेको हुन्छ। यो मानिसहरूको प्राकृतिक स्वाभाव हो। यसका लागि महिलालाई अझ बढी उपयुक्त उदाहरण भन्दा हुन्छ। महिलाहरू भावनामा मात्र होइन, शब्दमा पनि आफ्नो श्रीमान्लाई सम्मान गरिरहेका हुन्छन। यस्तै व्यवहार उनीहरू आफ्नो श्रीमान्बाट पनि चाहिरहेका हुन्छन्, तर धेरैजसो श्रीमान्
आफूले मनैदेखि माया गरिरहेको छु भने बढी पुलपुल्याउने काम किन गरूँ भन्ने स्वभावका हुन्छन् र यस्तो स्वाभावको आपसमा सञ्चार नहुँदा कहिलेकाहीं श्रीमान्-श्रीमतीबीच सामान्य खटपट हुन्छ।
सम्बन्धका आयामहरूको अध्ययन गरिरहेका विज्ञहरूको पनि यसमा फरक राय नै छ। यससम्बन्धी अध्ययन गरिरहेका विज्ञ रवि आर्यका अनुसार महिलाहरूसँगको सम्बन्धमा तीनवटा पाटा छन्। उनीहरू माया, महत्व र प्रशंसा तीन चीजका भोका हुन्छन्। उनीहरू यी तीनै चीजका खानी पनि हुन्। तीनै चीज दिन चाहने र लिन
नि चाहने भएकाले प्रेमीहरू, श्रीमान्हरूले यसलाई बुझेर त्यसै अनुसारको व्यवहार गर्नु श्रेयष्कर हुन्छ। यहाँसम्म कि पुरानै प्रशंसा दोहोर्याए पनि उनीहरूलाई पर्याप्त हुन्छ।
सधैं नयाँ र मौलिक प्रशंसा नै हुनुपर्छ भन्ने छैन।मार्क न्याप र अनिता भ्याङलिस्टीजस्ता सम्बन्धका विज्ञहरूले पनि यसलाई स्वीकारेका छन् र भनेका छन, जोडीहरू प्रारम्भतिर आपसमा प्रशंसामा डुबुल्की मार्छन्। यो केही वर्षसम्म जारी रहन्छ र सम्बन्ध पनि प्रगाढ रहन्छ, तर बिस्तारै महत्व घट्ने, प्रशंसा र माया पनि घटे जस्तो महसुस हुन थालेपछि सम्बन्ध बिग्रन थाल्छ। यस्ता थुप्रै घटनाका उदाहरण दिन सकिन्छ।
तपाईंको समस्या सुन्दा तपाईं बाहिरजस्तै अथवा अरूसँग जस्तै प्रेमिकासँग पनि कसरी परिपक्व सम्बन्ध बनाऊँ भनेर चिन्तित हुनुभएको बुझ्न सकिन्छ। प्रेमिकासँगको सम्बन्धमा पनि तपाईं आफू निपूर्ण हुन चाहनुहुन्छ भन्ने स्पष्ट हुन्छ। बाहिरी अन्य सम्बन्ध र प्रेमिकासँगको सम्बन्ध फरक कुरा हुन्। त्यसैले यसमा फरक ढंगले व्यवहार गर्नुपर्ने हुन्छ।
प्रेमिकासँगको यौनसम्बन्धको कुरा गर्न खोज्नुभएको हो भने यसका लागि आपसमा बसेर कुराकानी गर्नुपर्ने हुन्छ। प्रेमिका यौनसम्बन्धका बारेमा सकारात्मक छिन् भने खुलेर कुरा गर्न सक्नुहुन्छ। यहाँ त तपाईंको संगतमा आउनेहरू नै त्यस्तो चाहना राख्ने हुन् कि भनेर तपाईले शंका गर्नुभएको छ। त्यस्तो हुन पनि सक्छ र तपाईंको शंका मात्र पनि हुन सक्छ। तपाईंको र उनीहरूको स्वभाव मेल खान नसकेकाले यस्तो भएको हुनुपर्छ। अर्को कुरा, पारदर्शी रूपमा कुरा गर्नेलाई जसले पनि मन पराउँछ। यसमा पनि तपाईंको अनावश्यक शंका देखिन्छ।
