Latest Updates :

यौनकर्मीहरू रंगेहात पक्राउ, केटाकेटीहरू स्कूल ड्रेसमै होटलमा समातिए

SHARE THIS POST :
यौनकर्मीहरू रंगेहात पक्राउ, केटाकेटीहरू स्कूल ड्रेसमै होटलमा समातिए, पति विदेशमा पत्नी यौन धन्दामा! पत्रपत्रिकामा यस्ता समाचार बढेका छन्। आखिर किन छरिइरहेको छ त यौन, घरदेखि होटल–रेस्टुरेन्ट र फूटपाथसम्म? रत्नपार्क क्षेत्रमा प्रहरी नियन्त्रणमा महिला यौनकर्मी। यो प्रश्नको उत्तर खोज्न केही होटल कर्मचारी र ट्याक्सी चालक मार्फत तीन जना यौनकर्मी महिलाको सम्पर्क नम्बर टिपियो। तीमध्येकी सीमालाई गत फागुनको अन्तिम साता फोन गर्दा उनी कुरै मात्र गर्न त कसैसँग नभेट्ने भन्दै पन्छिइन्। बारम्बारको अनुरोधपछि भेट्न राजी भएकी उनले शुरूमै ठाउँ–ठेगाना नखुलाउन चेतावनी दिंदै ‘जिल्ला चाहिं धादिङ भन्दा फरक नपर्ने’ बताइन्।
“बुबा बित्नुभएपछि बिरामी आमा, दुई बहिनी र एउटा भाइलाई मैले हेर्नुपर्ने भयो, त्यसमाथि मलाई पढाइ छोड्न पनि मन थिएन”, पहिलो भेटमा सीमाले भनिन्। लामो समय काठमाडौं बसेकी गाउँकै दिदीसँग त्यहीबीचमा उनको भेट भयो। दिदीले काठमाडौंमा काम गरेर पढ्दै दुईचार पैसा घर पनि पठाउन सकिने उपायहरू सुझाइन्। त्यसको केही सातापछि सीमा सुन्धाराको गाजलु आँखा डान्सबारमा ‘वेटर’ बनिन्, १२ कक्षाको पढाइ जारी राख्नेगरी। “केही समय डान्सबारमा काम गरेपछि ठमेलको नमस्ते मसाज केन्द्रमा पुगें”, सीमाले भनिन्, “तर, दुवै ठाउँमा कहिल्यै यौनकर्म गरिनँ, तलब र टिप्सले नै जेनतेन पुर्‍याउँथें।” एसएसपी रमेश खरेल काठमाडौं प्रहरी प्रमुख भएर आएपछि भने डान्सबार, मसाज पार्लर जताततै दबाब बढ्यो। प्रहरीले कहिले फलानी डान्सरलाई, कहिले फलानी वेटरलाई त कहिले फलानो डान्सबारको साहूलाई समात्यो भन्ने खबर आउन थाल्यो। “म पनि समातिएको खबर गाउँमा पुग्यो भने त मरेकै जुनी हुन्छ”, दोस्रो भेटमा सीमाले भनिन्, “मेरै सहारामा घर चलेको छ, अब केही न केही नगरी भएन भन्ने भयो।” त्यही दबाबका बीच उनले रात्रिकालीन ट्याक्सी चालकहरूलाई मोबाइल नम्बर दिइन् र राजधानीको रात्रिजीवनमा आएको धेरैपछि ‘कल गर्ल’ बनिन्। अहिले अरू तीन जना साथीलाई समेत मिलाएर गोङ्गबुमा फ्ल्याट लिएकी छन्। ग्राहकलाई त्यहीं बोलाउँछिन्, ढुक्क छ। “यो सब रहरले गरेको होइन”, बीएड उत्तीर्ण सीमाले भनिन्, “तर, जीवनमा जो भयो, सो भयो।” कुरा गर्न रातोपुलस्थित डान्सबारमै बोलाएकी सल्मा निकै उदास थिइन्। माओवादीको ‘जनयुद्ध’ उत्कर्षमा पुग्दा रोल्पाबाट राजधानी भाग्न बाध्य भएकी उनले त्यसअघि कहिल्यै घर छाडेकी थिइनन्।

“जम्मा सात कक्षा पढेकी थिएँ, काठमाडौंमा कसैले काम दिएनन्”, सल्माले भनिन्, “अनि १६ वर्षको उमेरबाट यस्तो काम गर्न बाध्य भएँ, त्यो पनि खाली बाँच्नका लागि भएको छ।” तेस्रो पात्र सविनाको मोबाइल नम्बर नारायणी अञ्चलको थियो। पटक–पटकको फोनवार्तापछि उनले ‘छोरो लिएर आन्टीको घर आएको वेला मौका पारेर आफैं फोन गरेर भेट्ने’ वचन दिइन्। त्यसको तेस्रो दिनमा भएको भेटको शुरूमै सविनाले आफू व्यावसायिक यौनकर्मी नभएको बताइन्। “चार वर्ष भयो, श्रीमान् विदेशमा हुनुहुन्छ”, उनले भनिन्, “यसलाई धोका भन्नुस् या जे भन्नुस्, फेरि म जो पायो उहीसँग सम्पर्क गर्दिनँ पनि!” सीमा, सल्मा र सविनाको उदाहरणले काठमाडौंमा बाध्यता र आवश्यकताले यौन गतिविधि फस्टाएको देखाउँछ। महिला अधिकारवादी गैर–सरकारी संस्था रक्षा नेपालकी अध्यक्ष मेनुका थापा मुलुकभर करीब दुई लाख यौनकर्मी महिला रहेको अनुमान गर्छिन्। थापा भन्छिन्, “यीमध्ये ११–२४ वर्ष उमेर समूहका ७३ प्रतिशत र २५ वर्षभन्दा माथिका २७ प्रतिशत रहेको हाम्रो अध्ययनको मोटामोटी निचोड छ।” यौन बजारका मुख्य ग्राहक प्रहरी, सैनिक, कर्मचारी, अरू ओहोदावाला, धनाढ्य र विदेशीहरू हुने गरेको निष्कर्ष निकालेको रक्षा नेपालका अध्यक्ष थापा यौन व्यवसाय नियन्त्रणका लागि प्रहरीको मौसमी छापा काम नलाग्ने बताउँछिन्। उनको भनाइमा यौनकर्मीहरूलाई अर्ति–उपदेश वा कानूनभन्दा वैकल्पिक पेशा–व्यवसाय चाहिएको छ।

“डान्सबार, मसाज पार्लर, रेस्टुरेन्ट लगायतका ठाउँहरू यौन व्यवसायका लागि होइनन्”, थापा भन्छिन्, “कसैको आशीर्वाद/संरक्षणविना त्यहाँ त्यस्तो गर्ने हिम्मत पलाएको पनि होइन होला।” उनी खासगरी, दशैं–तिहारको वेला त्यस्ता ठाउँहरूमा छापा मार्न जाँगर देखाउने प्रहरीले यौनकर्मीको ट्याग लगाइदिनाले धेरै महिला यौन पेशामा लाग्न बाध्य भएको बताउँछन्। महानगरीय प्रहरी परिसर हनुमानढोकामा रहँदा वेश्यावृत्ति नियन्त्रणमा सक्रिय रहेका डीएसपी अरुणकुमार बीसी भने प्रहरीले कानून अनुसार विकृति नियन्त्रण गर्ने, वैकल्पिक व्यवसायको उपाय नदिने बताउँछन्। हाल केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा रहेका बीसीले भने “र, त्यस्तो अनैतिक काम गर्ने प्रहरी, आर्मी, हाकिम, नेता, पत्रकार जो भए पनि प्रहरीले समात्छ।” तर, प्रहरीले जति नै प्रयास गरे पनि देहव्यापार नियन्त्रण नहुने बरु व्यवस्थापन भने गर्न सकिने विश्वको अनुभवले देखाएको छ। (२३ देखि ३० वर्षसम्मका सल्मा, सीमा र सविना परिवर्तित नाम हुन्।) हिमालखबर शिवराज योगी
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger