Latest Updates :

प्युठानमा पहिरोबाट ठूलो क्षति: दुई दिनमा ३८ को मृत्यु

SHARE THIS POST :
दाङ: प्युठानमा केही दिनयता बाढीपहिरोमा परी मृत्यु भएका ३८ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अविरल वर्षासँगै जिल्लाका विभिन्न ठाउँमा आएको बाढीपहिरोले मंगलबार र बुधबार गरी यी शव फेला परेका हुन् । मंगलबार १४ जनाको शव फेला परेको थियो भने विभिन्न ठाउँबाट कम्तीमा २४ जना हराइरहेको खबर आएको थियो । मंगलबार राति पहिरोमा परी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर केसीको समेत मृत्यु भएको छ । घरमाथिबाट पहिरो खस्दा त्यसैमा पुरिएर उनको मृत्यु भएको प्रहरीले जनायो । पहिरोमा परी उनकी पत्नी विन्दुको पनि ज्यान गएको छ । स्थानीय बासिन्दाका अनुसार हरिबहादुर आफैं मंगलबार दिनभरि पहिरोपीडितको उद्धारमा खटिएका थिए । तर राति आएको पहिरोमा परी उनको घर पुरिएपछि पतिपत्नीकै मृत्यु भएको हो ।

पहिरोले सबैभन्दा धेरै फोप्ली गाविसमा मानवीय क्षति भएको प्रहरीले जनायो । बुधबार फोप्ली पुगेर फर्किएका प्युठानका प्रहरी प्रमुख डीएसपी रञ्जितसिंह राठौरका अनुसार अझै धेरै घरपरिवार जोखिममा छन् । उनका अनुसार फोप्ली गाविसको ३, ४ र ६ वडामा मात्रै १४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार फोप्ली–३ का चेतमान पुन, शेरबहादुर पुन, फोप्ली–४ मा पहिचान नखुलेका एक बालिका र एक बालक, फोप्ली–६ का नारायण केसी, दोर्णबहादुर केसी र पवित्रा केसीको मृत्यु भएको छ ।

 घर पहिरोले पुरेपछि फोप्ली–३ मा मनिराम पुन, तेजे पुन र खरेली पुनको मृत्यु भएको छ । त्यस्तै फोप्ली–६ मा जाहेश्वर बुढाथोकी र पिमा बुढाथोकीको पनि मृत्यु भएको डीएसपी राठौरले बताए । फोप्ली ३ का आठ महिने बालिका नेपुली घर्ती, सेत्तु पुन, शेरे पुन, दोमन्ता पुन, कुमारी पुन, चेतीमा पुन, नन्दी पुन, खोप्ली पुन, मने पुन, सागर पुन, फोप्ली– ४ का सेमली पुन र छमी पुनको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । जिल्लाको उत्तरी क्षेत्र अर्खामा झरेको पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा अर्खा–६ का ५२ वर्षीय देवबहादुर बुढा, हिमाल बुढा र जवुना बुढा रहेको प्रहरीले जनाएको छ । माजकोट गाविसकी जाली पुनको पनि मृत्यु भएको छ भने एक पुरुष र एक महिलाको शवको पहिचान हुन सकेको छैन । त्यस्तै खवाङ–७ मा दिलमाया केसी, ३ मा दबिले सुनार र सोही ठाउँकै डिके सुनारको मृत्यु भएको छ । उत्तरी प्युठानको पूँजा गाविसमा सुपारी मल्ल र उनका छोरा मुकेश मल्लको पनि पहिरोमा परेर मृत्यु भएको छ । त्यस्तै लुङ गाविसमा शिवबहादुर सुनार, रञ्जना केसी र सुशीला केसीको पहिरोमा पुरिएर मृत्यु भएको छ । फोप्ली–३ का चेतमान पुन, नाम नखुलेकी उनकी छोरी, चेतुना पुन, चेतुना पुनका छोरा र छोरी अझै बेपत्ता छन् । सोही गाविसका मानबहादुर पुन र उनकी पत्नी पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । त्यस्तै लुङ–३ का शोभा रिजाल, काली परियार, किरण थापा, खवाङ–३ का कुटुरी सुनार हराइरहेका छन् । जिल्लाका सबैजसो ग्रामीण सडक वर्षाले गर्दा अवरुद्ध छन् । धेरैजसो ठाउँमा सञ्चार अभावका कारण छिटो जानकारी नहुँदा पनि उद्धार र राहतमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger