भारतले नाकाबन्दी लगाई पेट्रोलियम लगायत अत्यावश्यक वस्तुको आपूर्ति रोकेपछि उत्तरी छिमेकी चीनबाट इन्धन ल्याउने विषयमा मुलुकभित्र बहस सुरु भएको छ। भारत र
चीनसँग मात्र सीमा जोडिएका कारण दक्षिणबाट ल्याउन नसक्दाको एक मात्र विकल्प नेपालका लागि उत्तरी छिमेकी चीन नै हो। चीनसँग पनि भारत जस्तै धेरै नाकाबाट नेपालको
बाटो जोडिएको छैन। उत्तरतिरको विशाल हिमालय शृङ्खलाले चीनतर्फ सहज आवागमन बनाउने संभावना पनि छैन।
प्रमुख रुपमा केरुङ र तातोपानी गरी दुई नाकामात्र आम
चल्तीमा रहेका छन्। गत वैशाखको भूकम्पपछि पहाड खसेर बाटो बन्द हुँदा दुवै नाका सञ्चालनमा आउन सकेका छैनन्। चीनले नेपाली सरकारी अधिकारीहरुसँग केरुङ नाका जति
सक्दो चाँडो खोल्ने आश्वासन दिएको बताइएको छ।
त्यो अवस्थामा निगमले आइओसीलाई चेतावनी दिए अनुरुप विकल्प नै खोज्नु परे केरुङ नाका उपयोग गर्नुपर्ने हुन्छ। केरुङबाट नाकाबाट तेल भित्र्याउन तिब्बतको दोस्रो ठूलो सहर
सिगात्से पुग्नुपर्छ। केरुङ र सिगात्सेको दूरी पाँच सय ४० किलोमिटर रहेको छ। तिब्बतको राजधानी ल्हासासम्म चीन सरकारले पेट्रोलियम पाइपलाइन पुर्याएको छ। त्यहाँबाट दुई
सय ५३ किलोमिटर दक्षिण पश्चिममा अवस्थित सिगात्सेसम्म चीनले रेल्वे सेवा पुर्याइसकेको छ।
ल्हासासम्म पाइपलाइन र त्यहाँबाट सिगात्से रेल मार्फत ढुवानी सम्भव भएको
हुँदा बेइजिङ साङ्घाई लगायत चीनको मुख्य भूमिको तुलनामा दक्षिणी चीनमा पेट्रोलीयम पदार्थको मूल्य खासै फरक पर्दैन।
तर ,विश्वको दोस्रो ठुलो पेट्रोलियम उपभोक्ता भए पनि अरु धेरै मुलुकको तुलनामा सिङ्गो चीनमै पेट्रोलियम पथार्थको मूल्य अहिले केही महङ्गो छ। सोमबारको मूल्य अनुसार
चीनमा एक लिटर डिजेलको खुद्रा मूल्य ८७ सेन्ट अमेरिकी डलर तोकिएको छ। यो ९२ रुपैयाँ बराबर हो। यसरी उत्तरी छिमेकीकहाँ एक लिटर डिजेलको खुद्रा मूल्य नेपालको भन्दा
११ रुपैयाँ बढी तिर्नु पर्छ।
