Latest Updates :

पुलिसले ग्यास लान्छ, उपभोक्ता रित्तै हेर्नुस नेपालको अवस्था कसरि घोटाला हुन्छ ग्यास ?

SHARE THIS POST :
काठमाडौं, ३ मंसिर
गोंगबुस्थित देवकोटा सप्लायर्स (ग्यास डिलर)मा बुधबार बिहान करिब १० बजे ग्यास लिने उपभोक्ताको भीड थियो । पहिल्यै नाम टिपाएका उपभोक्ताले ग्यास पाएकै थिएनन्, ३ जना प्रहरीले ४ वटा खाली सिलिन्डर ल्याएर पसलमा छाडिदिए । ती प्रहरीले पसलेलाई आदेश दिए, ‘हामीले ४ वटा खाली सिलिन्डर ल्याएका छौँ । यो भाइलाई मिलाएर ग्यास पठाइदिनू ।’ लगत्तै अर्का एक प्रहरी (पहिलेका वरिष्ठ देखिने) आएर ४ सिलिन्डर ग्यास दिन सञ्चालकलाई राजी गराए । यो दृश्य देखेपछि बिहानदेखि ग्यास पाउने आशामा पसलमा बसेका उपभोक्ता अवाक भए ।

प्रहरी गएपछि भीडबाट एकजना उपभोक्ताले भने, ‘प्रहरीको बर्दीमा आयो भने त हामीले पनि सजिलै ग्यास पाउने रहेछौँ ।’ केही छिनमै फेरि एकजना प्रहरी आए । उनले कसैलाई फोन गरे । केही क्षणमै एक पुरुष र एक महिला आइपुगे । पुरुषचाहिँ गीता ब्रान्डको सिलिन्डर लिएर आएका थिए । उक्त सिलिन्डर आफ्नो पसलमा नभएकाले साटफेर गर्न गाह्रो भएको कर्मचारीले बताए । तर, ती प्रहरीले
 ‘आफ्नो मान्छे हो, मिलाइदिनुपर्‍यो’ भने । आफूले सिफारिस गरेका महिला–पुरुषले ग्यास पाएपछि ती प्रहरी मोटरसाइकलमा हुँइकिए ।

पसलमा ग्यास आउने खबर पाएर जम्मा भएका सर्वसाधारणलाई भने नागरिकताको फोटोकपीसहित खाली सिलिन्डर छाडेर जान पसलेले अनुरोध गरे । ग्यास नपाएपछि पसलेले भनेजस्तो गर्नुको विकल्प उपभोक्तासँग थिएन । उनीहरूले हप्ता दिनदेखि महिना दिनसम्म कुनुपर्ने भनेर पसलका कर्मचारी सम्झाउँदै थिए । ‘अहिले आएको ग्यास पहिला नै नाम टिपाएकालाई वितरण हुँदैछ,’ ती कर्मचारीले भने, ‘त्यसैले बुधबार नाम टिपाएकाको पालो त कम्तिमा एक सातापछि मात्रै आउँछ, फोन गर्नुहोला ।’

यो त एउटा उदाहरण मात्रै हो । राजधानीका अधिकांश ग्यास डिलरमा यस्तै भइरहेको विक्रेता बताउँछन् । भारतको नाकाबन्दीपछि थोरै मात्रामा आएको ग्यास उद्योग र डिलरमार्फत बिक्री भइरहेको छ । थोरै ग्यास लिन धेरै उपभोक्ताको भीड हुने गरेका कारण व्यावसायीले प्रहरीसँग सुरक्षा माग्ने गरेका छन् । तर, सुरक्षाका लागि आउने कतिपय प्रहरीले आफूलाई चाहिनेभन्दा बढी ग्यास मागेर हैरान पार्न

थालेको डिलर सञ्चालक र उद्योगीको गुनासो छ । प्रहरीलाई अनावश्यक धेरै ग्यास बाँड्दा उपभोक्ताको भाग खोसिने गरेको विक्रेताको भनाइ छ । प्रहरीले एकपटक होइन, पटकपटक आएर ग्यास माग्ने गरेको एक ग्यास विक्रेताले बताए । दसँैअगाडि गोगंबु क्षेत्रकै एक विक्रेताले नेपालगन्जबाट ल्याएको करिब ५ सय ग्यास सिलिन्डर बिक्री गर्न प्रहरी परिचालन गर्दा प्रहरीले ४० सिलिन्डर ग्यास कब्जा गरेको गुनासो गरे । ती बिक्रेताले भने, ‘एकातिर आफूसँग भएको ग्यासभन्दा बढी उपभोक्ताको लाइन थियो, अर्कातिर सुरक्षा दिन आएका प्रहरीले नै धेरै ग्यास होल्ड गरेर बसेपछि ठूलो तनाव बेहोर्नुपर्‍यो ।’

प्रहरीले डिलरबाट ग्यास लिएर दु:ख दिने गरेको गुनासो आफूले पनि सुनेको महानगरीय प्रहरी प्रभाग नयाा बसपार्कका प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले बताए । उनले भने, ‘कार्यालयको प्रयोजनका लागि प्रहरीको लेटरप्याडमा चिठी लिएर आउनेलाई मात्रै ग्यास दिन डिलरहरूलाई भनेका छौं ।’
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger