Latest Updates :

यौनजन्य हिंसाको लफडामा गौरी

SHARE THIS POST :
केही वर्षसम्म जापान र अमेरिका बसेका कारण गुमनामजस्तै भएकी नायिका गौरी मल्ल ‘सिंहदरबार’ टेलिश्रृंखलाको प्रसारणसँगै उचाइमा पुगेकी थिइन् । सिंहदरबारले उनलाई यति ख्याति दियो कि उनी लामो समय विदेशमा थिइन् भन्ने कुरासमेत दर्शकले बिर्सिए । यद्यपि त्यही टेलिश्रृंखलाबाट प्राप्त लोकप्रियताले गौरी मल्ललाई एउटा नराम्रो लफडामा फसाएको छ ।

सिंहदरबारमा गौरीको दमदार भूमिका देखेर ‘सुपर फ्यान’ हुन पुगेका जापान बस्ने अनुज शाक्यले गौरी मल्ललाई जापानमा मोडलिङ गर्न बोलाए । लामो समयदेखि जापान बस्दै आएका अनुजको स्थानीय कम्पनीहरूसँग राम्रो हिमचिम भएको बुझेपछि गौरी पनि दुई महिनाअघि जापान पुगिन् । त्यहाँ उनले एउटा विज्ञापनमा काम गर्ने र एउटा कार्यक्रममा अतिथिको भूमिका निर्वाह गर्ने सहमति भएको थियो । त्यति मात्र होइन, सिंहदरबार टेलिश्रृंखलाको लोकप्रियताका कारण जापानी प्रधानमन्त्रीसँग पनि भेट हुन सक्ने आश्वासन गौरीलाई दिइएको थियो । त्यही भद्र सहमतिअनुरूप अनुजले गौरीका लागि २ लाख नगद र टिकटिङको व्यवस्था मिलाइदिए ।

यसअघि पनि लामो समय जापान बसिसकेकी गौरी यसपटक भने अरू परिचितहरूकहाँ नगई १० दिन अनुजकै फ्ल्याटमा बस्न पुगिन् । यही १० दिनबीच उनीहरूबीच ठूलो भनाभन र आरोप–प्रत्यारोप हुन पुग्यो जुन कति गम्भीर रूपमा बाहिर आयो भने नायिका गौरी मल्ल नेपाली दूतावासमा आफूमाथि यौन दुव्र्यवहार भएको आरोपसहित निवेदन दिने स्थितिसम्म पुगिन् । उक्त आरोप लगाउनुअघि नै अनुजले आफ्नो फेसबुक वालमा गौरी मल्लले आफ्नो घरबाट क्यामेरा चोरेको र एग्रिमेन्ट अनुसार काम नगरेको आरोप लगाइसकेका थिए । यही प्रकरणमा जापानस्थित नेपाली दूतावासले अनुज शाक्यलाई बयानका लागि बोलाएर माफी मगाएको छ । माफीको पछिल्लो प्रकरणपछि गौरी र अनुजबीच मिडियाबाजी नगर्ने सहमति भएको बताइन्छ । यद्यपि एउटी चर्चित नायिकाले कसैमाथि यौन दुव्र्यवहारजस्तो गम्भीर आरोप लगाएका कारण नेपाली सञ्चारमाध्यम भने अझै तरंगित छन् ।

दुई साता यता गौरी मल्ल र अनुज शाक्यका नाममा सयौं समाचार बनिसकेका छन् । यतिबेला गौरी मल्ल मिडियाबाट सकेसम्म टाढा भैरहेकी छिन् भने अनुज शाक्यले पनि यौन प्रकरण गौरीको तत्कालको आवेग मात्र भएको बताएका छन् ।

‘अनुज शाक्यले म गौरी मल्ल उपर दुव्र्यवहार, गाली बेइज्जती, शारीरिक एवं मानसिक यातना एवं महिलाजन्य यौन हिंसा मात्र होइन, समयको बर्बादी र आर्थिक नोक्सानसमेत गराएका कारण निजबाट यथोचित क्षतिपूर्ति दिलाई भराई पाउँm ।’ गौरी मल्लले जेठ १८ गते जापानस्थित नेपाली दूतावासमा दिएको निवेदनमा उल्लेख छ ।

गौरीको उक्त निवेदन प्रकाशमा आएपछि अनुज शाक्यले भने गौरीविरुद्ध पुन: गालीगलौज गर्दै फेसबुक स्टाटस लेखे । अनुजको भनाइ छ, ‘मसँग पैसा लिने, घरमा भएको क्यामेरा नसोधी लाने, जापानमा नक्कली विवाह गरेर बसे पनि दुनियाँलाई थाहा नदिने कलाकार रै’छिन् गौरी मल्ल । मैले उनीसँग दुई पटक हग (अँगालो हाल्ने) बाहेक अरू केही गरेको छैन । मैले चाहे भने जापान बस्न नक्कली विवाह गरेको आरोपमा उनलाई जेलसम्म पुर्‍याउन सक्छ ।’

खासमा के भएको थियो ?
जापानी कम्पनीहरूलाई नेपाली कामदार पठाउने काम गर्दै आएका अनुज शाक्यले गौरी मल्ललाई त्यहाँको ‘इको स्प्रे’ कम्पनीले उत्पादन गरेको एयर फिल्टरको विज्ञापनमा मोडलिङ गरिदिन अनुरोध गरेका थिए । सिंहदरबार हेरेपछि आफू गौरीको सुपरफ्यान भएको भन्दै अनुजले जापानमा मोडलिङको अवसर प्रदान गर्न पुलको काम गर्ने रहर भएको बताएका थिए । जापान बस्ने नेपालीले आफ्नो प्रशंसासहित मोडलिङको अवसर प्रदान गर्ने इच्छा व्यक्त गरेको देखेर गौरीलाई खुसी नलाग्ने कुरै थिएन । तैपनि सुरुमा उनले अनुजको विश्वास गरेकी थिइनन्, तर दुई लाख रुपैयाँसहित प्लेन टिकट समेत पठाइसकेपछि भने गौरीलाई विश्वास गर्न कर लाग्यो । लामो समय जापान बसेका कारण त्यहाँ गौरीका केही व्यक्तिगत काम पनि थिए ।

बुझिएअनुसार गौरीले जापान जानुअघि अनुजसँग दुईवटा सर्त राखेकी थिइन् । पहिलो सर्त थियो, ‘म जापानमा पहिले पनि लामो समय बसेका कारण त्यहाँ मेरो धेरै चिनजान छ । काम नसकुन्जेल म जापान आएको कुरा कसैलाई थाहा नहोस् । म जापान आएको थाहा पाएपछि चिनजानका धेरै मान्छेसँग भेटघाट गर्नुपर्छ जसले गर्दा काम राम्रोसँग गर्न सकिँदैन ।’ उनको दोस्रो सर्त थियो, ‘म शाकाहारी भएका कारण त्यसअनुरूपको खानपान एवं ध्यान योग गर्ने वातावरण बनाइदिनुपर्छ ।’

सुरुमा अनुजले यी दुवै सर्त पूर्ण रूपमा पालना गर्ने वचन दिएका थिए । त्यसका लागि अनुजले आफ्नै घरको एउटा कोठामा गौरीको बस्ने–खाने व्यवस्था गरे, तर गौरी जापान आएकै दिन अनुजले आफ्नो घरमा गौरीको खानपानको तस्बिर फेसबुकमा पोस्ट गरिदिए । पहिलो दिन नै पहिलो सर्तको उल्लंघन भएपछि गौरी र अनुजबीच भनाभन भयो । यही एउटा कुराले सुरु गरेको तनाव तब चरममा पुग्यो जब जापानमा अनुजलाई चिन्नेहरूले गौरीको कान भर्न थाले भने गौरीलाई चिन्नेहरूले अनुजको कान भर्न थाले । अनुजले साप्ताहिकसँग भने– ‘हामीले आफ्ना कुरालाई भन्दा अरूको कुरालाई महत्व दियौं । फेसबुकमा तस्बिर पोस्ट गरेर मैले एउटा गल्ती गरेको थिएँ, गौरीका बारेमा मैले चिन्दै नचिनेका जापानी तथा नेपालीहरूले नकारात्मक कुरा गरेपछि म थप गल्ती गर्न पुगेँ ।’

शुद्ध शाकाहारी खाना र त्यहीअनुरूपको वातावरण मिलाउने सर्तमा गौरीलाई बोलाएका अनुजले गौरीका बारेमा नकारात्मक कुरा सुनेपछि घरमा मांसाहारी खाने कुरा मात्र ल्याउन थाले । ‘जापानमा शाकाहारी खाना पाइँदैन । बजारमा जे पाइन्छ, त्यही ल्याउने हो नि तर उहाँ खाना नखाई उठ्न थाल्नुभयो ।

घरमा झगडा हुँदैनथ्यो तर काममा जाँदा भने हामीबीच झगडा पर्न थाल्यो । उहाँले पनि मुख छाड्न थाल्नुभयो, म पनि कन्ट्रोलमा भइनँ ।’ साप्ताहिकसँगको कुराकानीमा अजुनले घटनामा बढेको तिक्तताका सम्बन्धमा बताए ।

जसोतसो एउटा विज्ञापनको काम सकिएपछि गौरीले १० दिनपछि अनुजको घर छाडिन् । उनलाई जापानी प्रधानमन्त्रीसँग भेट्टाइदिने र अर्को एउटा महत्वपूर्ण कम्पनीका सिइओसँग मिटिङ गराउने योजना थियो, तर गौरीले ती दुवै अवसर मोह त्याग्दै अनुजको घर छाडिदिइन् । बुझिएअनुसार अनुजको घरमा एक्लै बस्दा गौरीले आफूलाई असुरक्षित महसुस गर्न थालेकी थिइन् । ‘उहाँ मेरो घरबाट क्यामेरा लिएर हिँड्नु भयो ।

खोजी गर्दै जाँदा उहाँ आफ्नो श्रीमान्को घर जानुभएको रहेछ ।’

अनुजका अनुसार गौरी मल्लले जापानमा रहँदा जापानमा स्थायी बसोबासका लागि एक जना जापानी नागरिकसँग विवाह गरेकी थिइन् । सुरुमा जापानी श्रीमान्सँग भेट्न नचाहेकी गौरीले आफूलाई नेपालीबाटै असुरक्षित महसुस गरेपछि चिनजानका जापानी व्यक्तिसँग भेटेकी थिइन् । ‘त्यसपछि आफ्नो जापानी श्रीमान् लिएर आएपछि मात्र मसँग गौरीजीले भेट गर्नुभयो । जापानी प्रधानमन्त्रीसँगको भेट र अन्य काम क्यान्सिल भयो । नेपालमा मलाई कसरी हेर्छन् मलाई थाहा छैन तर जापानमा मेरो आफ्नै खालको मित्रता एवं सम्पर्क छ, गौरीजीले त्यो सबै ध्वस्त बनाइदिनुभयो । यही आक्रोशमा मैले केही अपशब्द बोलेँ, जसलाई गौरीजीले यौन हिंसाकारूपमा लिनुभयो । जबकि उहाँलाई पहिलोपल्ट स्वागत गर्दा र अर्को एकपल्ट मैले खुसीले प्रेमपूर्वक अँगालो मात्र मारेको छु, कुनै गलत काम गरेको छैन ।’ अनुज भन्छन् ।

जापानी पति भनिएका एक वृद्ध व्यक्तिलाई लिएर गौरी अनुज कहाँ पुगेपछि भने उनीहरूबीच सुलह भयो, तर अनुजले फेसबुक पेजमा गौरीविरुद्ध विषबमन गर्न नछाडेपछि भने गौरी यौन हिंसाको मुद्दा हाल्न बाध्य भएको बताइन्छ । मुद्दाका विषयमा जापानी दूतावासले अनुजसँग सोधपुछ गरेर माफी मगाएपछि भने यो प्रकरण बिस्तारै सेलाउन थालेको छ ।

को हुन् अनुज


गौरी मल्लमाथि यौन हिंसा गरेको आरोप लागेका अनुज शाक्य आफैंमा प्रहरीबाट खोजी गरिएका व्यक्ति हुन् । उनीमाथि पटक–पटक ठगी मुद्दा परेको छ । नेपालबाट जापान जानुअघिदेखि नै विभिन्न कलाकारसँग उठबस गर्न रुचाउने अनुज बुङ्मती, ललितपुरका बासिन्दा हुन् । उनका दुई सन्तान तथा श्रीमती छन् । सुरुमा कोरिया र जापान दुवै स्थानमा कामदार पठाउने अनुज जापानी तथा कोरियन भाषामा पोख्त छन् । बागबजारमा उनी पहिले कोरियन भाषाको प्रशिक्षण दिन्थे भने जापान जानुअघि उनले त्यही इन्स्टिच्युटलाई जापानी भाषाको कक्षामा परिणत गरेका थिए । उनको भाषा प्रशिक्षण दिने संस्थाको नाम ‘चुमास’ थियो । चुमासमा पढ्न आउने विद्यार्थीहरूले नै शाक्यविरुद्ध ठगीको आरोप लगाएका थिए । जापान जान चाहने युवाहरूबाट पैसा लिने तर जापान नपठाउने भनेर उनीविरुद्ध पटक–पटक मुद्दा परेको छ । एकपटक जापानबाट फर्कने क्रममा उनलाई गौशाला प्रहरीले एयरपोर्टबाटै पक्राउ गरेको थियो । न्यायालयले शाक्यविरुद्ध दुई वर्ष जेल तथा दुई लाख रुपैयाँ सजायसमेत सुनाएको थियो ।

अनुजविरुद्ध व्यक्तिगत भन्दा पनि संस्थागत रूपमै मुद्दा पर्ने गरेको छ । उनलाई वैदेशिक रोजगारीमा पठाउने ‘हिमाल जनशक्ति’ ले युवाहरूसँग जापान पठाइदिन्छु भनेर पैसा असुल गरेको तर कम्पनीमा पैसा नबुझाएको भन्दै उजुरी हालेको थियो । केही समयअघि मात्र उनलाई हिमालय म्यानपावरले अर्को मुद्दा हालेको थियो । शाक्यमाथि ८३ लाख ठगी गरेको आरोप पनि छ । दुई वर्षयता नेपाल नआएका शाक्य यी दुवै मुद्दाका फरार अभियुक्त हुन् ।



SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger