Latest Updates :

नेपालको पहिलो घोषित समलिङ्गी भन्छन्, ‘ झुटो जीवन बाँच्न चाहन्न’

SHARE THIS POST :
काठमाडौं – नेपालको सम्भवत पहिलो घोषित समलिङ्गी सागर गुरुङले आफूले झुटो जीवन बाँच्न नचाहेको बताएका छन् । युट्युबमा पोष्ट भएको भिडियोमा आफूले झुटो जीवन बाँचेर परिवार, साथीभाइ, इष्टमित्र र आफूसँग सम्बन्धित कसैलाई पनि पर्दामा राख्न नचाहेको उनले बताएका छन् । उनी भन्छन्, ‘कथित रुपमा सभ्य बन्न र समाजमा अटाउनको लागि म इमान्दारितालाई थाती राख्न सक्दिनँ । आफू जो हुँ त्यहि भएर बाँच्न चाहन्छु त्यसकारण निकै साहस बटुलेर आफू समलिङ्गी भएको बताएको हुँ ।’ आफू समलिङ्गी भएको धेरै पहिलादेखि बताउन खोजे पनि अहिले मात्र उनले स्पष्ट र ठूलो स्वरमा आफ्नो पहिचान बारे बोल्न सकेको उनले बताए । उनी भन्छन्, ‘ यस विषयमा म बुझ्ने हुँदादेखि नै जुधिरहेको छु ।

अहिले मैले मेरो जीवनमा एउटा स्थान बनाइसकेको छु, जहाँ बसेर म आफू समलिङ्गी भएको सजिलै भन्न सक्छु ।’ सार्वजनिक रुपमा आफू समलिङ्गी घोषणा गर्नुभन्दा पहिले उनले यो कुरा आफ्नी बहिनी पर्नेलाई सुनाएको उनले बताए । उनी भन्छन्, ‘ मैले यो कुरा मेरो एकजना बहिनीलाई भन्न चाहें । बहिनीको कोठामा बस्दा उनलाई आफू समलिङ्गी भएको बताएँ । प्रत्युत्तरमा उनले भनिन्, ‘हो, यो कुरा मलाई पहिले नै थाहा थियो, तिमी जेजस्तो भएपनि यसले हाम्रो मायामा केही असर गर्दैन ।’ ‘जब उनले त्यसो भनिन् तब मलाई डिग्री हाँसिल गरेको जस्तो अनुभव भयो । मैले कोही व्यक्तिलाई त आफ्नो बारे भन्न सकें भन्ने महसुस भयो । म झुटमा बाँचिरहेको छैन भन्ने ठानें ।’ केही कुरा भन्नको लागि पहिलो व्यक्ति निकै महत्वपूर्ण हुने उनी बताउँछन् । पहिलो व्यक्तिले कि त भन्ने मान्छेलाई बनाउँछ वा बिगार्छ भन्ने उनको तर्कसमेत छ ।

आफ्नो कुरा सुन्ने पहिलो व्यक्ति नै राम्रो भएकोमा आफू निकै भाग्यमानी भएको उनको भनाई छ । एकजनाबाट राम्रो प्रतिक्रिया पाएपछि उनले बल्ल आफ्नो परिवारलाई सो कुरा भन्न आँट गरेको उनको भनाइ छ । सैनिक परिवारका उनी अरु दाजुभाइभन्दा भिन्न छु भन्न उनलाई निकै गाह्रो भएको उनले बताए । उनी भन्छन्, मेरो हजुरबुवा सैनिकमा हुनुहुन्थ्यो, मेरो बुवा आर्मी, मेरा दाजुभाइ, काका सबै आर्मी त्यसैले म पूरा परिवारमा भिन्न छु भन्न मलाई निकै कष्टकर थियो । मलाई यो पहिलेदेखि थाहा थियो तर मैले यस विषयमा तोकेर भन्न सकिरहेको थिइन ।’ ‘म समलिङ्गी हुँ भन्दा मलाई निकै डर लागेको थियो । वास्तवमा मेरो परिवार निकै रुढिवादी थियो । उहाँहरुलाई केही अचम्मको महसुस नगराई भन्ने विषयमा तनाव हुन्थ्यो । एकदिन मैले उहाँहरुलाई डाइनिङ टेबलमा बसाएँ,त्यसपछि हाम्रो निकै गम्भीर कुरामा छलफल भयो । ’ उनले भने, ‘उहाँहरुको प्रतिक्रिया मैले आधा राम्रो आधा नराम्रो पाएँ । तर उहाँहरुलाई मेरो बारेमा पहिला देखि नै थाहा भएको जस्तो लाग्यो । सुरुमा उहाँहरुले पनि मान्न सक्नुभएन तर जब मैले उहाँहरुलाई स्पष्ट भनिसकेको थिएँ तर अब उहाँहरुलाई सायद सहज भइसकेको हुनुपर्छ ।’

आफूलाई साथीभाइले समेत यस विषयमा सहयोग गरेको उनको भनाई छ । उनी भन्छन्, ‘मेरा सबै साथीहरु पनि म समलिङ्गी भएको कुरा नै सहज रुपमा स्विकार गर्छन् । उनीहरुलाई म को हुँ, मलाई के मनपर्छ भन्ने पहिलेदेखि नै थाहा थियो । म उनीहरुसँग सधैं इमान्दार भएँ । म मेरो साथीहरुप्रति निकै आभारी छु ।’ परिवार र बच्चा उनको लागि पनि सपना भएको बताउँदै यो कुरा कुनै महिलाबाट सम्भव नहुने पनि उनी भन्छन्, ‘हो, मलाई बच्चा मनपर्छ, परिवार मनपर्छ, तर मलाई थाहा छ, मेरो कुनै महिलासँग सम्बन्ध हुन सक्दैन । ’ आफू कुनै बेला युवतीको प्रेममा परेको र त्यति नै बेला आफू द्विलिङ्गी नभई समलिङ्गी भएको उनले थाहा पाएको बताए । उनी भन्छन्, ‘म घरमा टिभी हेरेर बस्न मनपराउँछु । एकदिन टिभी हेर्दा मैले एलन द जेनेरस बारे थाहा पाएँ । म उनीजस्तै खुसी, सफल, घोषित समलिङ्गी र विवाहित हुन चाहन्छु । उनले नै मेरो जीवन परिवर्तन गरिदिएकी हुन् । उनलाई देखेपछि म मा नयाँ आशा जाग्यो । ’ मानिसहरुमाझ उदाहरणको रुपमा खडा हुन चाहने उनी यही विषयसँग जुधिरहेकालाई सहयोग गर्न चाहने उनले बताए ।
SHARE THIS POST :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger