७ सन्तानका धनी दम्पत्ती बुढेसकालमा एक्लै के गर्नु छोरा छोरि पायो हुर्कायो >>>>>
गुल्मी–गुल्मीको सदरमुकाम तम्घासका अवकास प्राप्त शिक्षकद्धयः भेषबहादुर कुँवर उनकी धर्मपत्नी अमृतादेवि कुँवरका दुई छोरी र पाँच छोराहरुसहित ७ सन्तान छन् । तर, उनीरुलाई हुर्काउने पढाउने बेलासम्म आफ्नो साथमा राखे, त्यसपछिका दिनहरुमा उनीहरु एक्लै छन् र घर कुरुवा जस्तै बनेका छन् ।
जेठा छोरा ईश्वरीजंग कुँवरले सुरुमा महेन्द्र माध्यमिक उच्च विद्यालय तम्घास र तम्घासकै शिद्धबाब उच्च माध्यमिक विद्यालयमा पढाए । त्यहाँबाट वुटवल बहुमुखी क्याम्पसको स्थायी प्राध्यापक नियुक्ति पाएका उनले होराईजन कलेजमा पनि पढाए । तरm उनी त्योभन्दा उच्च सपना देख्दै अमेरिका उडे ।
गत ७ वर्षदेखि अमेरिकाको जर्जिया युनिभर्सिटी अफ टेक्नोलोजीमा रिर्सच पर्शन रहेका उनले त्यसै युनिभर्सिटीबाट पिएचडी गर्दैछन् । लगत्तै माईला भाई विजयजंगलाई पनि उनले उतै ताने । अमेरिकाको अलवानिया स्टेट युनिभर्सिटीमा असिस्टेसन प्रोफेसर रहेका विजयजंगले भने पिएचडी गरिसकेका छन् ।
दुई भाईका स–परिवार अमेरिका मैं रहेका उनीहरु भन्छन्– ‘स्वदेशमै केहि गरौं, त्यति दुःख गरेर पडाइयो, तर खासै अवसर नपाएपछि यहाँ आउनु हाम्रो बाध्यता थियो ।’ कुँवर दम्पत्तीका साईला छोरा रमेशजंग भारतीय सेनामा जागिरे छन् । काईला छोरा किरणजंग नेपाल प्रहरीको प्रधान कार्यालयमा प्रहरी निरीक्षकमा कार्यरत छन् । कान्छा छोरा हेमन्तजंग ललितपुरको पुल्चोक क्याम्पसमा यसै वर्ष इन्जिनियर सकाउँदै छन् ।
छोटो छुट्टी लिएर घर आएका प्रहरी निरीक्षक छोरा किरणजंग यतिबेला त्यो परिवारमा बडा दशैंकोभन्दा बढि रमाइलो छाएको छ । आमा अमृतादेवि कुँवर भन्छिन्– ‘यतिबेला त किरणकी र रमेशकी श्रीमती पनि सँगै भएकोले सबै बसेर निकै रमाईलो गरिरहेका छौं ।’ उनले थपिन्– ‘उनीहरु हिँडेपछि निराश नै हुने हो ।’
दुई छोरीहरु मध्ये जेठी छोरी मायालक्ष्मी स्वदेशको गायन क्षेत्र मैं तल्लिन होलिन भनेर ढुक्क थिए कुँवर दम्पत्ती । केहि आधुनिक गीतहरु गाएर गायन क्षेत्रमा स्थापित भइसकेकी उनी पनि अष्ट्रेलिया लागिन् । कान्छी छोरी दयालक्ष्मीले धेरै टाढा दाङमा बिहे गरिन् ।
त्यसैले पनि कुँवर दम्पत्ती घरमा एक्ला र घर कुरुवा जस्तै बनेका हुन् । लामो समयसम्म दुवै दम्पत्ती स्थायी शिक्षक रहेर स्वदेशमै आफ्नो जीवन अर्पेका उनीहरु अवकाश पाए लगत्तै अहिले समाज सेवामा लागेर सबैसँग हेलमेल गरेर दिन बिताउने गरेका छन् ।
कुँवर दम्पत्तीको त्यो एक्लोपनको कथा यस जिल्लाको मात्रै नभएर सिंगो देशकै प्रतिनिधीमुलक कथा हो । दक्ष जनशक्ति यस देशले उत्पादन गर्छ र यसै देशले विदेश पलायन हुन बाध्य बनाउँछ ।