Latest Updates :

मसँग सेल्फी लिन चाहे पनि, आनन्दचाहिँ मलाई आयो, सनी लियोन

SHARE THIS POST :
पहिलो पटक नेपाल आउँदाभन्दा दोस्रो पटक आउँदा धेरै प्रशंसक फेला पारेकी बलिउडकी हट नायिका सनी लियोनीले तेस्रो पटक नेपाल आउँदा अझ बढी प्रशंसक भेटिन् । तेस्रो पटकको तुलनामा चौथो पटक अझ धेरै प्रशंसक देखा परे । ‘यसपटकको चौथो भ्रमण अविस्मरणीय बन्न पुगेको छ, प्रशंसकहरूलाई ह्यान्डल गर्न आयोजकहरूलाई हम्मे–हम्मे परेको छ,’ जिंक भोड्काद्वारा आयोजित ब्रान्ड इन्डोर्समेन्ट कार्यक्रमका लागि होटल हायातमा थुप्रै नेपाली सञ्चारमाध्यमबीच साप्ताहिकसँग मात्र विशेष कुराकानी गर्दै सनीले भनिन्– ‘चौथो पटकको भ्रमणमा प्रशंसकको संख्यामा वृद्धि भएको देखेर म उत्साहित छु । जति पनि फ्यान मैले नेपालमा भेटें, उहाँहरू मप्रति अत्यन्तै सहिष्णु पाएँ । उहाँहरू साँच्चै मलाई माया गर्नु हुँदो रहेछ, सद्भाव राख्नुहुँदो रहेछ ।’

जिंक भोड्काको उत्पादन प्रवद्र्धनका निम्ति काठमाडौं आएकी सनीले आफ्ना प्रशंसकहरूलाई खुसी तुल्याउन हरसम्भव प्रयास गरिन् । सनी उनीहरूलाई आफ्नो हस्ताक्षरसहितको जिंक भोड्काको बोतल प्रदान गर्नेदेखि सेल्फी खिचाउनेसम्मको कार्यक्रममा सरिक भइन् । सनीका अनुसार भद्रता नै नेपालीहरूको सबैभन्दा ठूलो विशेषता हो । छोटो भ्रमणका क्रममा उनी काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रको भ्रमणमा निस्किइन्, जहाँ उनले प्रशंसकहरू आफू नजिक आउन चाहेको अनुभूति गरिन् । उच्च सुरक्षा अपनाउन सल्लाह दिइए पनि आफ्ना फ्यानहरूसँग आफू पनि नजिक हुन चाहेको सनीले बताइन् । घुम्ने क्रममा केही मानिसले सनीसँग सेल्फी लिएका थिए । उहाँहरूले मसँग सेल्फी लिन चाहे पनि, आनन्दचाहिँ मलाई आयो, सनीले भनिन्– ‘यस्तो ‘फ्यान बेस,’ म अरू मुलुकमा कल्पना पनि गर्न सक्दिनँ । भीड ठूलो भए पनि यहाँका नागरिक शान्त छन् । मेरा नेपाली फ्यानमा अधिकांश युवायुवती छन्, यस्तो शान्त युवापुस्ता यो देशको भविष्य हो, जुन एकदमै सकारात्मक पक्ष हो ।’ सनीले थपिन्– मुख्य कुरा यहाँका मानिसहरू असाध्यै सरल छन् । 

कुराकानीका क्रममा सनीले पटक–पटक नेपाल विश्वकै आकर्षक मुलुक भएको बताइन् । त्यसैले नेपाल आउने भन्नेबित्तिकै आफू उत्साहित हुने गरेको सनीको भनाइ छ । जसरी कुनै पनि स्थान पहिलो पटक घुम्दा त्यसको अनुपम आनन्दलाई सविस्तार वर्णन गर्न सकिँदैन, त्यसरी नै हरेक पटक नेपाल आउँदा पहिलो पटक आए जस्तो महसुस हुने उनको अनुभव छ । धेरै पटक नेपाल आइसके पनि यो मुलुकप्रतिको आत्मीय सम्बन्ध बढ्दै गएको सनी बताउँछिन् । नेपालको संस्कृति, यहाँका मठमन्दिर, गुम्बा तथा यहाँका अरू धेरै कुरा विशेष छन्, हरेक पटक आउँदा म ती स्थानमा दोहोर्‍याएर पुग्छु,’ सनीले भनिन्– ‘काठमाडौं उपत्यकाबाहिर त अहिलेसम्म जान पाएकी छैन, तर काठमाडौंबाहिर अझ सुन्दर नेपाल छ भन्ने जानकारी पाएकी छु, ती पर्यटकीय स्थल पुग्ने सपना साँचेर बसेकी छु ।’

सोमबार नेपाल आएकी सनी मंगलबार बिहान माउन्टेन फ्लाइटमार्फत सगरमाथा अवलोकन गर्न चाहन्थिन् तर मौसमका कारण त्यो सम्भव भएन । मंगलबार बेलुकी साप्ताहिकसँगको कुराकानीमा उनी भन्दै थिइन्– ‘भगवान्को कृपा भए बुधबार बिहान नेपालका हिमाली क्षेत्र अवलोकन गर्न पाउने थिएँ ।’ अर्को पटकको भ्रमणमा मिलेसम्म उपत्यकाबाहिरका पर्यटकीय स्थलको अवलोकनमा निस्कने सनीले बताइन् । दुर्भाग्य, बुधबार पनि मौसम सफा नभएका कारण माउन्टेन फ्लाइटमा जाने सनीको सपना अधुरै रह्यो ।

सनी नेपाल आउनुपूर्व नै यो मुलुकका बारेमा आफूलाई धेरै कुराको ज्ञान भएको बताउँछिन् । नेपालको माउन्ट एभरेस्ट विश्वका निम्ति अनुपम प्राकृतिक उपहार भएको उनको तर्क छ । सनी भन्छिन्– यस्तो अद्वितीय प्राकृतिक आश्चर्य नेपालमा छ । सनीका अनुसार गौतम बुद्ध यही मुलुकमा जन्मनु अर्को गौरवको कुरा हो । ‘म सगरमाथा र बुद्धको देश नेपाल पुगेर फर्किएको भनेपछि मेरा साथीहरू छक्क पर्छन्, उनीहरूका थुप्रै जिज्ञासा हुन्छन्,’ सनी भन्छिन्– ‘आफ्नो नेपाल यात्राको वर्णन गर्दा मेरा साथीहरू कुनै दिन नेपाल भ्रमण गर्ने कल्पनामा डुबिरहेका हुन्छन् ।’ सनीले बुद्ध धर्मको प्रशंसा पनि खुलेरै गरिन् । बुद्ध धर्म आकर्षक भएकैले विश्वभर यसका अनुयायीहरू रहेको उनले बताइन् ।

नेपालको सबल पक्ष भनेको यहाँका युवायुवती भएको उनको तर्क छ, यो देशलाई अघि बढाउने, विश्वमाझ नेपालको छवि अझै उजिल्याउने दायित्व उनीहरूमाथि छ । ‘मलाई उनीहरू यति कन्फिडेन्ट लागे कि अब नेपालको भविष्य सुरक्षित हातमा जाँदैछ भन्नेमा म ढुक्क छु,’ सनीले भनिन्– ‘पुर्खाले बनाइदिएको यस्तो सुन्दर मुलुकलाई यी आत्मविश्वासी युवायुवतीले अझ उचाइमा पुर्‍याउने छन्’ नेपाली युवतीहरूका बारेमा तपाईंको दृष्टिकोण ? भन्ने प्रश्नमा सनीको उत्तर थियो– ‘मलाई नेपाली युवतीहरू साह्रै सेन्सुअल लागे ।’

बलिउडको कुरा गर्नेबित्तिकै सनी उत्साहित हुन्छिन् । बलिउड आफ्नो जीवनको टर्निङ प्वाइन्ट भएको उनको स्वीकारोक्ति छ । ‘आफ्ना फ्यानहरूका निम्ति मैले यो वर्ष दिने थुप्रै खुसी छन्, अगस्टमा अरबाज खानको चलचित्र ‘तेरा इन्तजार’ फलोरमा जाँदैछ । त्यसबाहेक अन्य ३ वटा चलचित्र पाइपलाइनमा छन् ।’ सनीले भनिन्– ‘यस्तै दुईवटा गीतका म्युजिक भिडियो सार्वजनिक हुने तयारीमा छन् । अहिले म एमटिभीको चर्चित रियालिटी शो स्प्लिट्सभिल्लामा पनि व्यस्त छु ।’ सनीले सरसर्ती आफ्नो कामका बारेमा बताइन् । त्यसपछि फिस्स हाँस्दै भनिन्– ‘म आफूलाई एकदमै भाग्यमानी मान्छु, बलिउडको दायरा फराकिलो भएकैले मैले संसारभर प्रशंसक पाएकी छु ।’ सनीका अनुसार इन्टरनेटको अहिलेको युगमा विश्व सानो गाउँ भएको छ, त्यसैले संसारको कुनै न कुनै कुनामा उनको चर्चा भैरहेको हुन्छ ।

दक्षिण एसियाकै लोकप्रिय सेलिब्रेटीको परिचय पाएकोमा कस्तो अनुभूति हुन्छ भन्ने जिज्ञासामा उनले भनिन्– ‘म धन्यवाद भन्न चाहन्छु ती समस्त प्रशंसकहरूलाई, म खराब समयबाट गुज्रँदा होस् वा राम्रो समयमै किन नहोस्, मेरा प्रशंसक सधैं मेरो साथमा छन्, योभन्दा खुसीको कुरा अरू के नै हुन सक्छ र ? हो, ती प्रशंसकका कारणले नै हो, म तपाईंसँग उभिएर यसरी अन्तर्वार्ता दिइरहेकी छु, सनी लियोनीलाई यो उचाइमा पुर्‍याउन ती प्रशंसकहरूकै भूमिका छ ।

एउटा यस्तो प्रश्न जुन मैले तपाईंसँग सोध्न छुटाउनुहुन्न, तपाईंको सुन्दरताको रहस्य के हो ? पंक्तिकारको यो जिज्ञासापछि सनी लामो हाँसो हासिन्, टेबलमा रहेको पानी तानेर पिइन् अनि मुस्कुराउँदै, केही बोल्न खोजे पनि अलमलिइन् । ओठबाट शब्द फुत्किनु अगावै उनको अनुहारमा लालीमा छायो । एकपटक श्वास तानेर उनले मुस्कुराउँदै भनिन्– ‘स्वस्थ्य खाना यसको मुख्य रहस्य हो । मेरो शरीरका लागि उपयुक्त आहारविहारका सम्बन्धमा म सचेत छु ।’ केहीबेरको मौनतापछि फेरि सनी बोलिन्– ‘मेरो शरीर मेरो मन्दिर हो, मैले यसलाई सही अर्थमा पुज्न जानेकी छु ।’ तर नेपाल आउँदा मोमो खान नछुटाएको बताउँदै उनले फेरी अट्टहास छोडिन् अनि भनिन्– मोमो मलाई असाध्यै मन पर्‍यो ।

बलिउडमा तपाईं कोसँग नजिक हुनुहुन्छ भन्ने प्रश्नमा सनी प्रस्ट रूपमा प्रस्तुत भइन् । मनोरन्जनको संसारमा काम गर्ने कलाकारहरूको नजिकको मित्र कोही नहुने उनको अनुभव छ । सनीका अनुसार बलिउड यस्तो उद्योग भैसकेको छ, जहाँ सबै मानिस अत्यन्तै व्यस्त रहन्छन् । ‘काम सकिएपछि म फेरि एक्लै बाँचिरहेकी हुन्छु,’ सनीले सुनाइन् । पछिल्ला आठ महिनायता भने सनीले अत्यन्तै नजिकका केही मित्र पाएको बताइन् । ती मित्र अहिले उनको निरन्तर सम्पर्कमा छन् । ‘तिनीहरू वास्तवमै मेरा शुभचिन्तक हुन्,’ सनी भन्छिन्– ‘यहाँ म उनीहरूको नाम लिनुलाई महत्वपूर्ण मान्दिनँ ।’
SHARE THIS POST :
Pages (19)1234567 Next
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KTV NEWS - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger