श्रीमतीबाट कुमारीत्वको अनुभव गर्न सकिनँ ! के कुमारी युवतीको खोजी गरिहिँड्नु उचित हो ?
मलाई कुमारीत्व महत्वपूर्ण लाग्छ, तर आफ्नी श्रीमतीबाट यसको अनुभव प्राप्त गर्न सकिनँ जसले गर्दा मेरो मन साह्रै अशान्त छ । उनीप्रति कुनै बेला रिस, घृणा जाग्छ भने कुनै बेला माया लागेर आउँछ । मैले उनलाई यही कुराले धेरै तनाव दिएको छु र आफू पनि तनावमा हुन्छु । म कसरी सामान्य हुन सकुँला ? के कुमारी युवतीको खोजी गरिहिँड्नु उचित हो ?
कुमारीत्वको कुरा
विशेष गरेर युवतीहरूको कौमार्य विकसित मानव सम्यताको मात्र नभै पहिलेदेखि नै मानव यौनिकताको एक महत्वपूर्ण पक्ष रहेको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि समाजमा छ । विवाहमा कुमार केटालाई कन्या खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भंग भए–नभएको कुराले निकै महत्व राखेको पाइन्छ । यस्तो स्थितिका कन्या कुमारीलाई अक्षत योनि अर्थात् Virgin भनिन्छ । कुनै व्यक्तिसँग यौनसम्पर्क राख्नु नै कौमार्य भंग हुनु हो । जैविक रूपमा यौनसम्पर्कको अनुभवहीनता नै कौमार्य भंग नहुनु अर्थात् कुमार वा कुमारी हुनु हो ।
किन यति धेरै चासो ?
सतही रूपमा अहिले समाजमा व्याप्त मूल्य–मान्यतालाई मान्नैपर्ने वा नपर्ने सन्दर्भमा पनि अनेक कुरा छन्, तर जैविक रूपमा केही गहिरा कुरा पनि छन् जसलाई छोटकरीमा चर्चा गरौं । गर्भनिरोधको कुनै उपाय नभएको र सन्तान कसको हो भनेर थाहा पाउने प्रविधि नभएका बेला पुरुष पूर्ण रूपमा यी कुराको जानकारीका लागि महिलामै भर पर्नुपर्ने स्थिति थियो । पहिलेको जमानामा महिलाको तुलनात्मक रूपमा छोटो प्रजनन् समय भएको स्थितिमा कौमार्य भंग भएका केटीसँग सम्बन्ध गाँस्नुको अर्थ कुनै अर्को पुरुषको बच्चालाई आफ्नो भनेर आफूले हुर्काउने दायित्व लिनुपर्ने परिस्थिति हो । यो धेरै अर्थले अस्वीकार्य स्थिति हो । दोस्रो महत्वपूर्ण कारण, यदि एकपटक अन्य कुनै व्यक्तिसँग यौनसम्पर्क राखिसकेको व्यक्तिले फेरि पछि पनि अर्को कुनै व्यक्तिसँग लुकिछिपी यौनसम्पर्क राख्ने सम्भावना बढी हुने मानिने भएकाले पुरुषले सामान्य रूपमा यी कुरा स्वीकार गर्दैनन् । अर्को महत्त्वपूर्ण कारण अर्को कुनै पुरुषसँगको यौनसम्पर्कबाट कौमार्य भंग भएका महिलाले अर्को पुरुषसँग गहिरो सम्बन्ध विकास गर्न नसक्ने विश्वास गरिन्छ । धेरै पुराना यी जैविक आधारले अहिले पनि आधुनिक समाजमा एक हदसम्म पकड बनाएका छन् जुन परिवर्तन गर्न सजिलो नहुन सक्छ ।