मुम्बईको सायन क्षेत्रको अस्पतालमा अनौठो घटना भएको छ । चिकित्सकहरूले मृत घोषित गरिएको व्यक्ति पोस्टमार्टम गर्नु केही समयअघि उठेपछि चिकित्कस र अन्य कर्मचारी अचम्मित भएका छन्। ५० वर्षीय यी सुकुम्बासीलाई एक वरिष्ठ चिकित्सकले मृत घोषित गरेर तुरुन्तै ‘मोर्टुअरी’मा लगिएको थियो जुन अस्पताल नियमविपरीत हो । मरिसकेका भनिएका बिरामीलाई पनि दुई घन्टासम्म वार्डमा राख्नुपर्ने चिकित्सा नियम छ । ‘प्रकाश’ नामका यी मानिसमा श्वासप्रश्वासम्बन्धी रोग रहेको र प्रहरीले ल्याउँदा अवस्था नाजुकभइसकेको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उनलाई बस बिसौनीमा अचेत अवस्थामा फेला पारिएको थियो । सोमबार पत्रकार सम्मेलनमा बोल्दै लोकमान्य तिलक म्युनिसिपल जेनेरल हस्पिटलका डिन डा. सुलेमान मर्चेन्टले बिरामी जँड्याहा भएको र रोगलाई बेवास्ता गर्दै आएको बताए । ‘उनको मुखभरि औँसा थियो । यसले मानव तन्तुलाई खान्छ । सामान्यतया मृत शरीरमा यो औँसा पाइन्छ । उनी कम्तीमा ६ देखि ७ दिनसम्म एकैठाउँमा रहेको हुनुपर्छ,’ डा. मर्चेन्टले भने । उनले बिरामीको मुटुको धड्कन, श्वासप्रश्वास परीक्षण गरिसकेपछि मात्र मृत घोषित गरिएको पनि बताए । उनले अस्पताल नियम उल्लंघनबारे अनुसन्धान सुरु गरिएको जानकारीसमेत दिए । ‘बिरामीको अवस्था अहिले स्थिर छ । उनलाई आइसियूमा राखेर कानको संक्रमण र कुपोषणको उपचार गरिरहेका छौँ,’ उनले भने ।