पछिल्लो समय त झन् विमानस्थलभित्र भ्रष्टाचार गर्ने गिरोह नै सक्रिय भएको स्रोतको दाबी छ । विमानस्थलमा सुरक्षासँग सम्बन्धितदेखि अन्य सामान्य सामग्री खरिद प्रक्रियामा अनियमितता हुने खुलेको छ भने विमानस्थलमा ट्याक्सीबाट यात्रु ओसारपसारदेखि पार्किङ शुल्क उठाउने ठेक्कासम्ममा घोटाला हुने गरेको छ । विमानस्थलमा हुने यस्तो घोटालाले देशको ढुकुटीमाथि ब्रह्मलुट त भइरहेको छ नै देशको सुरक्षा नीतिलाई पनि ठाडो चुनौती दिएको छ ।
एसी खरिद प्रकरणमा घोटाला
नागरिक उड्ययन प्राधिकरणले २०७२ चैत ९ गते सूचना जारी गरी विमानस्थलभित्र राख्नका लागि एयर कन्डिसन सिष्टम राख्नका लागि बोलपत्र दर्खास्त आह्वान गर्यो । सोहीअनुरूप इजी इन्फ्रास्ट्रक्चर, हिमाल, महावीर, मोरङ अटो, इस्टवेस्ट र माइक्रोटेक नामक कम्पनीको दर्खास्त परेको थियो । जसमध्ये उक्त ठेक्का लिन इजी इन्फ्रास्ट्रक्चरले भ्याटसहित १०८,२६१,९०२.०९, हिमालले १०५,३०१,२७०.४५, महावीरले १०४,०७३,०३७.३६, मोरङ अटोले १०५,०५०,३९९.१५, इस्टवेस्टले १०५,८०२,१४०.६९ र माइक्रो टेकले १०१,४४०,१००.०० मा दर्खास्त आह्वान गरे । ती कम्पनीमध्ये सबैभन्दा कम मूल्यमा माइक्रोटेकले दर्खास्त आह्वान गरेको थियो भने मोरङ अटोको भ्याट नै चुक्ता थिएन ।
यता, इस्टवेस्टको पनि दर्खास्त दिएको कागजात पूर्ण रूपमा थिएन । तर, उक्त टेन्डर माइक्रोटेकलाई परेन । विमानस्थलभित्र ठूलै गिरोहको मिलेमतोमा उक्त काम आफूनिकटको कम्नीलाई दिइयो । मूल्य कम भए पनि गुणस्तर अर्को कम्पनीको राम्रो भएको भनियो । तर, पछि बुझ्दा टेन्डर पाउने कम्पनीले राख्ने सामान पनि उही मोडल र गुणस्तरको थियो ।
प्रवेश पास छपाइ तथा सप्लाइ प्रकरणमा घोटाला
यसै पनि विमानस्थललाई निकै संवेदनशील क्षेत्र मानिन्छ । अझ भीआईपी छिर्ने गेट, सामान ओसार–पसार गर्ने गेटलगायत निकै संवेदनशील ठाउँमा प्रयोग हुने सामानलाई लिएर पनि विमानस्थलमा घोटाला हुने गरेको छ ।
२०७२ कात्तिक ११ गते यस्तै एउटा आसयपत्र नागरिक उड्डयन प्राधिकरणका नामबाट सार्वजनिक भयो । उक्त आसयपत्रमा सुरक्षा पास तथा पाससँग सम्बन्धित अन्य सामग्रीको विशेषतासहितको ‘डेमो’ दिनुपर्ने भन्ने उल्लेख भए पनि त्यसको पर्वाह नगरी आफूनिकटको कम्पनीलाई ठेक्का प्रदान गरिएको थियो । उक्त पास छपाइ गर्दा प्राधिकारणले भनेका विशेषता पूरा गरिएका छैनन् भने सार्वजनिक खरिद ऐनविपरीत न्यूनतम शुल्कमा दर्खास्त आह्वान गर्ने पाँच कम्पनीलाई नभई छैटौँ कम्पनीलाई काम दिइएको छ ।
सुरक्षा पास सुरक्षासँग सम्बन्धित भएकाले सुरक्षा निकायका प्रमुखलाई बोलाएर त्यसको ‘डेमो’ देखाउनुपर्ने थियो । तर, त्यसो नगरी विमानस्थलभित्र आफूखुसी काम गरिएको छ । सुरक्षासम्बन्धी संवेदनशील कुरामा पनि त्यसको पर्वाह नगरी मनलाग्दी गरिनाले विमानस्थलको सुरक्षालाई लिएर ठूलै खेलवाड भएको स्रोतको भनाइ छ ।
हाजिरी गर्ने मेसिन खरिद तथा सप्लाइ प्रकरणमा घोटाला
केही समयअघि विमानस्थलमा कर्मचारीको हाजिरी गर्न राखिने हाजिरी मेसिनसम्बन्धी दर्खास्त आह्वान भएको थियो । तर, उक्त खरिद प्रकरणमा पनि कम शुल्कको दर्खास्त आह्वान गर्नेलाई नभई माथिको दरभाउ प्रस्तुत गर्नेलाई काम दिने अन्तिम तयारी विमानस्थलले गरिसकेको छ । उही मोडलको सामान राख्ने भए पनि विशेषता बढी भएको भन्दै आफूनिकटको कम्पनीलाई विमानस्थलमा ठेक्का दिने काम हुन लागेको छ । टेक्नोलोजी सेल्स प्रालिले पाउनुपर्ने ठेक्का विमानस्थलमा आफूनिकटका कम्पनीलाई पार्ने प्रपन्च रचिएको छ ।
पार्किंङदेखि यात्रु ओसार–पसारसम्ममा घोटाला
विमानस्थलमा पार्किङ ठेक्कादेखि यात्रु ओसार–पसारका काममा समेत घोटाला हुने गरेका छन् । विमानस्थलको पार्किङले विमानस्थलका ठूला कर्मचारीको मिलेमतोमा मनलाग्दी रकम उठाउने गरेको छ भने यात्रु ओसारपसार गर्ने ट्याक्सी व्यवसायमा पनि ठूलै घोटाला हुने गरेको छ । यी दुवै ठाउँमा राजनीतिक आड़मै नियमविपरीत काम हुने गरेको छ । कसले कति शुल्कसम्म लिन पाउने भन्ने विमानस्थलको नियमविपरीत यी दुवै ठाउँमा थरीथरीका घोटाला हुने गरेका छन् ।
विमानस्थलभित्र पसल राख्ने काममा पनि घोटाला
विमानस्थलभित्र राखिने पसललाई लिएर पनि विमानस्थलमा घोटाला हुने गरेको पाइएको छ । स्रोतका अनुसार विमानस्थल आफूनिकटका मानिसको पसल थाप्न राजनीतिकदेखि नागरिक उड्ययन प्राधिकरणका ठूलै कर्मचारीको समेत मिलेमतो हुने गरेको छ । एयरपोर्टभित्र पसल राख्दा निकै फाइदा हुने भएकाले यो कामका लागि ठूलै राजनीतिक दबाब आउने गरेको स्रोतको दाबी छ ।
अधिकांश काम सार्वजनिक खरिद ऐनविपरीत
विमानस्थलमा हुने अधिकांश ठेक्का सार्वजनिक खरिद ऐनविपरीत हुने स्रोतको दाबी छ । कुनै न कुनै बहाना देखाएर विमानस्थलभित्रकै ठूला कर्मचारीले आफूनिकटका कम्पनीलाई काम पार्ने गरेको स्रोतको दाबी छ । यसबारे रातोपाटीले सार्वजनिक खरिद अनुगमन कार्यालयमा बुझ्दा त्यहाँका अधिकारीले उजुरी परेको खण्डमा आफूहरूले काम–कारबाही गर्ने र गरिरहेको बताएका छन् । तर, सबैतिरको सेटिङ मिलाएर विमानस्थलभित्रको गिरोह नै नियमविपरीत काम गराउन लागिपरेको स्रोतको दाबी छ ।
अनियमितता गर्न आफैँ उजुरी
कतिपय अवस्थामा सार्वजनिक खरिद अनुगमन कार्यालयमा आफ्नो कम्पनीविरुद्ध नियोजित रूपमा आफैँ उजुरी गर्ने र सार्वजनिक खरिद अनुगमन कार्यालयले ‘क्लिन चिट’ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि त्यही ‘क्लिन चिट’ कै आधारमा काम–कारबाही खासै अगाडि नबढाउने कारणले आफ्नो कम्पनीलाई ‘सेफ ल्यान्ड’ मा राखेर आफैँ उजुरी गर्ने र त्यहाँबाट प्राप्त भएको क्लिन चिटका आधारमा विमानस्थलभित्र अनियमितता कतिपय कम्पनीले गर्ने गरेको स्रोतको दाबी छ ।
अख्तियारमा उजुरीका चाङ
विमानस्थलभित्र हुने गरेका विभिन्न काम सार्वजनिक खरिद ऐनविपरीत भएको भन्दै अख्तियारमा कैयौँ उजुरी परिसकेका छन् । तर, अख्तियारमा जति नै उजुरी परेको भए पनि सम्बन्धित कम्पनी, ठेकेदार तथा नागरिक उड्ययन प्राधिकरणका कर्मचारीलाई आवश्यक कारबाही हुन नसकेको स्रोतको भनाइ छ । ‘अख्तियारमा विमानस्थलमा भएको घोटालाबारे मात्र उजुरी हेर्ने हो भने पनि सय बढी होलान् । तर, अहिलेसम्म कसैलाई कारबाही भएको छैन,’ स्रोतले भन्यो ।
कतिपय सामान किनिन्छ तर प्रयोग हुँदैन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतिसम्म अनियमितता हुने गरेको छ कि त्यहाँ के आवश्यक छ भन्दा पनि आफूनिकटको कम्पनीसँग के सामान छ र त्यसलाई कति कमिसन खाएर विमानस्थलमा कसरी राख्न सकिन्छ भन्नेतर्फ त्यहाँका ठूला कर्मचारी लाग्ने गरेको स्रोतको दावी छ । विमानस्थल धावनमार्गमा प्रयोग हुने कतिपय मेसिन र विमानस्थलभित्र राखिएका कतिपय सामान पनि किनिएकामात्र छन् । प्रयोग भएका छैनन् । आफूनिकटका कम्पनीसँगको मिलेमतोमा कुन समान कहाँ, कसरी राख्ने भन्ने कुरा मिलाउने र त्यही आधारमा टेन्डर प्रक्रिया खुलाएकोजस्तो गर्ने तर भित्रभित्रै मिलेमतो गरेर काम हुने गरेको स्रोतको भनाइ छ ।
कर्मचारी रिझाउन तालिमका नाममा विदेश भ्रमण
विमानस्थलभित्र हुने गरेका अधिकांश काम नियमविपरीत हुने र त्यससम्बन्धी भित्री कुरा थाहा पाएका कर्मचारीले कुनै पनि बेला अप्ठ्यारो पार्न सक्ने हुनाले विभिन्न तालिमका नाममा कर्मचारीलाई देश–विदेश घुमाउने गरिएको छ । यसरी तालिमका नाममा विदेश घुम्न जान पाउने पनि विमानस्थलमा ठूलाबडानिकटकै कर्मचारी पर्ने गरेका छन् । कुनै सामान चलाउन वा अन्य तालिम भन्दै महँगो रकम खर्चेर कर्मचारीलाई विदेश पठाउने गरिएको छ । यसको उद्देश्य कर्मचारीले केही सिकून् भन्दा पनि उनीहरू रिझिऊन् भन्ने हुन्छ ।
के भन्छन् विमानस्थल महाप्रबन्धक ?
यस विषयमा रातोपाटीले विमानस्थलका अधिकारीको राय माग्न विमानस्थल महाप्रबन्धक देवानन्द उपाध्यायलाई सम्पर्क गरेको थियो । यस विषयमा उनले कम दरभाउ प्रस्तुत गरेकै आधारमा कुनै कम्पनीलाई काम दिन नसकिने बताए । ‘हामी रकममात्र हेर्दैनौँ । काम वा सामानको गुणस्तर कस्तो हुन्छ भन्ने पनि हेर्छौं । कसैलाई शंका लागे सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी पनि दिन सकिन्छ । उक्त कार्यालयमा परेको उजुरीकै आधारमा कतिपय टेन्डर प्रक्रिया रोकिएका उदाहरण पनि छ ।’ विमानस्थलमा नियमविपरीत काम हुन्छ भन्ने कुरा गलत भएको दाबी गर्दै उनले विमानस्थलमा कुनै पनि ठेक्कालाई लिएर विवाद भए सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा उजुरी गर्न सकिनेसमेत बताएका छन् ।